देउवालाई विमानस्थलमा स्वागत गर्नेहरूमाथि ज्ञानेन्द्र शाहीको व्यंग्य—‘भदौ २४ गते कहाँ थिए होलान्?’
काठमाडौं,२८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किँदा विमानस्थलमा स्वागत गर्न पुगेका कांग्रेस नेताकार्यकर्तामाथि व्यंग्य गरेका छन्।

शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत देउवालाई स्वागत गर्न विमानस्थल पुगेकाहरूलाई लक्षित गर्दै भदौ २४ गते उनीहरू कहाँ थिए भनेर प्रश्न गरेका हुन्।
‘आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई एयरपोर्टमा स्वागत गर्न पुग्नेहरू, भदौ २४ गते चाहिँ कहाँ थिए होलान्? कता गएका थिए होलान्? कसैलाई थाहा छ भने कमेन्टमा लेखिदिनुहोस्,’शाहीले लेखेका छन्।
स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहेका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। उनलाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। देउवाको स्वागतका लागि कांग्रेसको इतर समूहले विशेष तयारी गरेको थियो।
गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए। उक्त घटनामा देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएका थिए र त्यसपछि देउवा उपचारका लागि विदेश गएका थिए।
यही पृष्ठभूमिलाई जोडेर शाहीले अहिले विमानस्थलमा देखिएको स्वागत दृश्य र भदौ २४ को घटनाका बेलाको अवस्थाबीच तुलना गर्दै कांग्रेस नेतृत्व तथा कार्यकर्तामाथि व्यंग्य गरेका हुन्।

