सोलुखुम्बुका विद्युत तथा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सांसद कार्कीद्वारा मन्त्री श्रेष्ठको ध्यानाकर्षण



काठमाडौं,२७ साउन । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले सोलुखुम्बु जिल्लाका विभिन्न विद्युत तथा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीले बुधबार मन्त्री श्रेष्ठसँग भेट गरी जिल्लाका महत्वपूर्ण विद्युत तथा सिँचाइ आयोजनाको निर्माण तथा विस्तार प्रक्रिया तत्काल अघि बढाउन ध्यानाकर्षण गराएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्।सांसद कार्कीले सोताङ र खुम्बुपासाङल्हामु गाउँपालिकामा विद्युत् सबस्टेसन निर्माणको प्रक्रिया सुरु गर्न,कालापत्थरसम्म ३२ केभी क्षमताको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न तथा सोलुखुम्बु जिल्लाभर ग्रामीण विद्युतीकरणलाई प्राथमिकताका साथ अघि बढाएर सम्पन्न गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी जिल्लाका विभिन्न सिँचाइ आयोजनालाई समेत प्राथमिकताका आधारमा अघि बढाएर समयमै सम्पन्न गर्न उनले आग्रह गरेका थिए।
कार्कीको आग्रहपछि मन्त्री श्रेष्ठले सोलुखुम्बुलाई सरकारले प्राथमिकताका साथ हेरिरहेको बताउँदै जिल्लाका लागि प्रस्तावित आयोजनाको प्रक्रिया तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

विद्युत् प्रसारण र ग्रामीण विद्युतीकरणको विस्तारसँगै सिँचाइ आयोजनाले जिल्लाको कृषि,पर्यटन तथा समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्