कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, यी एजेन्डा माथि हुँदैछ छलफल



ललितपुर,२५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी,सरकारका पछिल्ला गतिविधि, तराई–मधेशको घटनाक्रम तथा प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल हुने बताईएको छ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा हिंजोबाट सुरु भएको बैठकमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक विषय तथा बैठकमा प्रस्तुत प्रस्तावका विषयमा जानकारी गराएका थिए।

महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न आठवटा प्रस्ताव बैठकमा प्रस्तुत गरेका छन्। बैठकमा आगामी १५औँ महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ।

महाधिवेशनका लागि आवश्यक नियमावली तथा निर्वाचन निर्देशिका तयार गर्ने, पार्टी सदस्यता अद्यावधिक तथा वितरण गर्ने,महाधिवेशन तयारी समिति गठन गर्ने र विधान मस्यौदा समिति बनाउने विषय प्रस्तावमा समेटिएका छन्। त्यस्तै प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका कामका लागि विभिन्न उपसमिति गठन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गर्ने विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ।

बैठकमा पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम तथा सामाजिक सद्भाव कायम गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको छ। पार्टीले तराई–मधेशमा देखिएका सामाजिक तथा राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा तय गर्दै सामाजिक सद्भाव कायम गर्न पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्ने भएको छ।

त्यस्तै, सरकारले कार्यभार सम्हालेको १०० दिनको समीक्षा, त्यसपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद बाहिर नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि बैठकमा छलफल हुने भएको छ।

प्रदेश सरकारका सन्दर्भमा पछिल्लो समय विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै प्रदेश तहमा पार्टीको आगामी रणनीति तय गर्ने विषय पनि बैठकको एजेन्डामा छ।

यसैगरी सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेका निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समितिसम्बन्धी विषय तथा भ्रातृ संस्थाहरूको विधानका विषयमा पनि केन्द्रीय कार्यसमितिले छलफल गर्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयसमेत छलफलका लागि राखिएका छन्।

कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउने क्रममा संगठनात्मक संरचना, सदस्यता व्यवस्थापन, विधान र निर्वाचन प्रक्रियासँग सम्बन्धित कामलाई समेत तीव्रता दिने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्