नेतृत्वलाई सहयोग गर्दै १५ औं महाधिवेशन सम्पन्न गर्न जुट्नुको अर्को विकल्प कांग्रेससंँग अहिले छैन : केन्द्रीय सदस्य शेर्पा
काठमाडौं,२५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीभित्रका सबै तितामिठा कुरालाई बिर्सेर एकताबद्ध रूपमा अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।हालै एक सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रम केन्द्रीय सदस्य शेर्पाले सो कुरा बताएका हुन्।पार्टीको वर्तमान नेतृत्वलाई सहयोग गरेर अहिले १५ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न जुट्नुको विकल्प नरहेको उनको भनाई थियो।

पार्टीभित्र विगतमा देखिएका मतभेद र असमझदारीलाई लिएर लामो समयसम्म अल्झिरहनुभन्दा आगामी राजनीतिक चुनौतीलाई सामना गर्न पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।“अहिले विगतका तितामिठा कुरालाई भुलेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ,” शेर्पाले भने।
निर्वाचनमा नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा सहभागी भइसकेको उल्लेख गर्दै शेर्पाले अब अदालतसँग जोडिएका झन्झटबाट मुक्त भएर महाधिवेशनको प्रक्रियालाई सहमतिका साथ अघि बढाउनुपर्नेमा जोड दिए।
पार्टीको आन्तरिक विवाद समाधान गर्दै महाधिवेशनको वातावरण निर्माण गर्न सके कांग्रेस थप सुदृढ हुने उनको दाबी छ। “अदालती झन्झटबाट मुक्त भएर महाधिवेशनको प्रक्रियामा एकताका साथ अघि बढ्न सक्यौँ भने आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिन्छ,” उनले भने।
उनले पार्टीभित्रको गुटगत तथा व्यक्तिगत असमझदारीलाई प्राथमिकता दिँदा संगठन कमजोर हुने भन्दै नेता–कार्यकर्ता सबैले पार्टीको संस्थागत हितलाई केन्द्रमा राख्नुपर्ने बताए। महाधिवेशनलाई विवादको विषय बनाउनेभन्दा पार्टी पुनःनिर्माण र संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने उनको धारणा छ।
शेर्पाले १५ औँ महाधिवेशनलाई निर्धारित प्रक्रियाअनुसार सफल बनाउन सके त्यसले कांग्रेसभित्र नयाँ ऊर्जा र एकताको सन्देश प्रवाह गर्ने बताए। आगामी निर्वाचनलाई लक्षित गरेर संगठनलाई अहिलेबाटै मजबुत बनाउनुपर्नेमा समेत उनले जोड दिए।

