विभिन्न कार्यक्रमको आयोजना गरी आदिवासी जनजाति दिवस मनाईंदै



काठमाडौं,२४ साउन । विविध कार्यक्रमको आयोजना गरी आजको अन्तरर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइएको छ। दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा आदिवासी जनजाति समुदायका विभिन्न संघसंस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।

कार्यक्रमअघि भुकृटिमण्डपदेखि खुलामञ्चसम्म र्‍याली निकालिएको थियो। र्‍यालीमा सहभागीहरूले आदिवासी जनजातिको अधिकार,पहिचान,संस्कृति र परम्पराको संरक्षणा तथा प्रवर्द्धनको माग गर्दै विभिन्न नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन् । उनीहरूले विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन् ।

आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति,परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक छन् ।

प्रतिक्रिया दिनुहोस्