कम्पनीको शेयर हेरफेर तथा किर्ते ठगी आरोपमा दुई जना पक्राउ दुई जना पक्राउ



काठमाडौं,१३ माघ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–५ मा दर्ता कार्यालय रहेको सुनगाभा पोल्ट्री फर्म प्रा.लि. सम्बन्धी शेयर हेरफेर, किर्ते दस्तखत र वित्तीय ठगीसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

श्री कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको उक्त कम्पनीका सञ्चालकहरू राजकुमार महर्जन, हरिकृष्ण महर्जन र विजयलाल देशार बीच बराबरी लगानी रहेको थियो। प्रत्येक सञ्चालकको रु. १०० दरका २६,६६८ थान शेयर रहेको कम्पनीको कुल सम्पत्ति मूल्य रु. ५ करोड ५२ लाख कायम गरिएको थियो।

पीडित पक्षका अनुसार २०७५ साल मंसिर २२ गते हरिकृष्ण महर्जन र राजकुमार महर्जनको शेयर विजयलाल देशारले खरिद गर्ने सहमति भएको थियो। सहमतिअनुसार प्रति व्यक्ति रु. ५–५ लाख बैना स्वरूप दिई बाँकी रकम शेयर दाखिलाका क्रममा भुक्तानी गर्ने सहमति भएको उल्लेख छ।

तर, सो सहमति पश्चात् २०७५ मंसिर २५ गते कम्पनीको बैठक बसेको देखाई राजकुमार महर्जनको किर्ते दस्तखत प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंक, कलंकी शाखाबाट पीडितलाई जानकारी नदिई व्यक्तिगत जमानीमा रु. ३ करोड ऋण लिएको आरोप लागेको छ।

यसैगरी, सहमतिअनुसार बाँकी रकम नदिइकन पीडितले शेयर राजीनामा दिएको भनी २६,६६६ थान शेयरको रकम लक्ष्मी बैंक लिमिटेडको खातामा जम्मा गरी शेयर दाखिला गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको, तर पीडितको सनाखत नभएकै अवस्थामा शेयर हेरफेर गर्न खोजिएको उजुरीमा उल्लेख छ।

पीडितको उजुरी अनुसार विपक्षीहरूले कम्पनीका सम्पूर्ण कागजात आफ्नो नियन्त्रणमा राखी,सूचना नदिई र सुनुवाइको सिद्धान्तविपरीत जगेडा शेयर आफूले मात्र खरिद गरी पीडितलाई बैठकमा सहभागी हुन तथा आफ्नो हक प्रयोग गर्नबाट वञ्चित गरेका थिए।

उक्त घटनालाई ठगी,किर्ते दस्तखत,अधिकार दुरुपयोग तथा कम्पनी ऐन विपरीतको कार्य ठहर गर्दै सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको र सोही क्रममा हरिकृष्ण महर्जन र विजयलाल देशारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्