भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना



काठमाडौं,१२ माघ । आज रातिदेखि मौसम बदली भएर भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि नै पश्चिमी भेगबाट बादल लाग्न शुरु भइ भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सन्दीप अधिकारीका अनुसार भोलि पश्चिमी तराईका केही ठाउँमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । यो प्रणाली पर्सि बुधवारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिने र धेरै ठाउँमा हल्का वर्षा र हिमपात हुने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि पर्सि बुधवार पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । पर्सि बुधवार बेलुकीदेखि मौसममा सुधार आउनेछ । यसअघि गएको शुक्रवार र शनिवार पनि मौसम बदली भएर पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो ।

आज दिनभर कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र गण्डकीका बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्