कर्मचारी आन्दोलनप्रति टाइगर प्यालेस रिसोर्ट ब्यबस्थापनको बेवास्ता



बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले शुरु गरेको आन्दोलनप्रति ब्यबस्थापनले पुरै बेवास्ता गरेको आन्दोलनरत कर्मचारीहरुले आरोप लगाएका छन ।

अष्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित सो होटलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर करार सम्झौता नवीकरण नहुने जानकारी दिएपछि आइतबारदेखि त्यहाँ कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । होटलका जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ४ सय ३३ कामदारलाई निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको कर्मचारी युनियनका अध्यक्ष रोसन गुरुङ्गले बताए । उनले निष्काशन गरिएका कर्मचारीहरुलाई पुनरबहाली गर्ने प्रकृया अगाडि बढाउन दबाब दिइएको बताए ।

उक्त रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । सेप्टेम्बर ९ तारिखमा पठाइएको इमेलमा करार सम्झौता नविकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिने उल्लेख छ । कर्मचारी युनियनका प्रवक्ता रोहित भट्टराईले कोरोनाका कारण न्यूनतम तलबमा चित्त बुझाउन तयार हुँदाहुँदै रोजगारी नै खोसेपछि आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

उनले नेपाली कामदारलाई निष्कासन गरेको तर विदेशीलाई नगरिएको आरोप लगाए । होटलका एचआरका म्यानेजर इन्द्र भट्टराईसँग पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन । घेराउ,धर्ना र स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउंदासम्म ब्यबस्थापनले गम्भीरता नदेखाएको बताउंदै भट्टराईले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
चार वर्षअघि ६ अर्बभन्दा बढी लगानीमा तिलोत्तमा नगरपालिका–१३ कोटहिवामा १४ विगाह क्षेत्रफलमा पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्