कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : एमाले अध्यक्ष ओली
काठमाडौं,२१ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनस्थापनाका लागि चर्को दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरिएकाले अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने तर्क गरेका हुन्। “प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनर्स्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ,” ओलीले भने ।
सुशीला कार्की संविधान मिचेर प्रधानमन्त्री बनेको टिप्पणी गर्दै उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामीको संज्ञा पनि दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पूर्व प्रधानन्यायाधीश भएको मानिस आफैंले संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो ।’
प्रधानन्यायाधीश भइसकेको मान्छे मानव अधिकार आयोग बाहेक कुनै पनि ठाउँमा नियुक्त हुन नपाउने उनको तर्क छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले २÷३ हजार केटाकेटीले डिस्कर्डमा जम्मा भएर भोटिङ गरेर कार्कीलाई प्रधानमन्त्री बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई हावाको भरमा बनेको हाहु सरकारको संज्ञा दिए ।
अध्यक्ष ओलीले भदौ २४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार कुनै संविधानअनुसार नबनेको बताए । यो सरकारको लोकतन्त्र, संविधान, जनताको प्रतिनिधित्वसँग वैरभाव रहेको ओलीको आरोप छ ।

