संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि देशब्यापी जनभेला र प्रदर्शन गर्ने एमालेको निर्णय
काठमाडौं,१५ कार्तिक । नेकपा (एमाले) ले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ।शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्षा,लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।

अभियान अन्तर्गत कार्तिक २२ गते देशैभरका वडाहरूमा जनभेला, २५ गते पालिकास्तरमा प्रदर्शन तथा २९ गते जिल्ला सदरमुकामहरूमा जनसभा आयोजना गरिने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुासर अभियानको समापन मंसिर ६ गते काठमाडौंमा हुने बृहत् जनसभाबाट गरिनेछ।साथै, यसअघि पोखरामा तोकिएको महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय गरिएको छ। महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुनेछ।
ज्ञवालीका अनुासर महाधिवेशनका लागि करिब २१०० प्रतिनिधि छनोट गरिनेछ। जसका लागि मंसिर १३ गते देशभर एकैसाथ निर्वाचन हुनेछ।
बैठकले संघीय निर्वाचन क्षेत्र, पार्टी सदस्य संख्या, दलित, मजदुर, महिला तथा युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित हुने गरी प्रतिनिधि छनोटको मापदण्ड टुंगो लगाएको छ।

