सर्यो कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको भेला
काठमाडौँ,१५ कार्तिक । पार्टीको १५ औं महाधिवेशन लिएर उत्पन्न विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि विशेष महाधिवेशन पक्षधरहरुले आफ्नो भेलालाई मंगलबारका लागि सारेका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन तालिका आउँने अपेक्षा रहेको जनाउँदै कांग्रेस नेता गुरुराज घिमिरेले बैठकमा महाधिवेशन तालिका पेश हुन नदिएमा अर्को ढंगले भेला हुने जानकारी दिए । घिमिरेले केन्द्रीय समिति बैठक दुई दिन स्थगित भएका कारण भेला पनि दुई दिनपछि सारिएको बताए।
“जसरी पनि महाधिवेशनको निर्णय गर्ने केन्द्रीय समितिले हो । केन्द्रीय समितिको बैठक दुई दिन स्थगित भएपछि भेला पनि दुई दिन पछि सारिएको छ,” हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले भेला कस्तो हुन्छ भन्ने कुरा केन्द्रीय समितिको निर्णयमा निर्भर हुनेछ।”
उनले केन्द्रीय समितिमा महामन्त्रीले कार्यतालिका पेश गर्न नपाएको भन्ने बाहिर आएको भन्दै केन्द्रीय समितिको अवस्थाले नै भेलाले निर्देशित गर्ने बताए । अहिलेको राष्ट्रिय समस्याको र पार्टीको समस्याको दुवै समाधान पार्टीको नियमित महाधिवेशनले दिने भन्दै केन्द्रीय समितिले जो यथार्थ बुझ्नुपर्ने उनको भनाइ छ ।
उनले केन्द्रीय समिति तयार नभएको अवस्थामा भने विशेष महाधिवेशन बाध्यात्मक रहेको बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइसकेको भन्दै त्यस अगाडि नै केन्द्रीय समितिबाट नियमित महाधिवेशन घोषणा हुनु हितकर हुने बताए।
उनले नेतृत्व र पदाधिकारीले आफ्ना जिम्मेवारी बहन गर्न नसक्दा त्यसले पार्टीलाई कमजोर अवस्थामा पुर्याएको र देशको अवस्था पनि लथालिङ्ग अवस्थामा रहेको बताए ।
घिमिरेले केन्द्रीय समितिले कार्यतालिका अस्वीकार गरेको प्रमाणित भएमा भने मङ्गलबारको भेलाले कडा बाटो रोज्ने संकेत गर्दै त्यसपछि देशभर भेला सकेर विशेष महाधिवेशन आयोजना हुने दाबी गरे।

