जेनजी आन्दोलन : बैंक लुटेर मोटरसाइकल खरिद गर्ने युवक जेल चलान



काठमाडौं,१२ कार्तिक । जेनजी आन्दोलनको अवसरमा काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरी रकम खर्च गरेर मोटरसाइकल किन्ने एक युवक पक्राउ परेका छन्। दोलखा बैतेश्वर गाउँपालिका–८ का २७ वर्षीय दीपक श्रेष्ठले लुटेको रकम प्रयोग गरी मोटरसाइकल खरिद गरेको खुलेको प्रहरीले जनाएको छ।

भदौ २४ गते भएको बैंक लुटपाटपछि प्रहरीले अनुसन्धान गर्दा श्रेष्ठ संलग्न रहेको पुष्टि भएको थियो। उनलाई असोज ७ गते पक्राउ गरी अनुसन्धानपछि डकैती मुद्दामा जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरी अनुसन्धान अनुसार श्रेष्ठले आन्दोलनकै क्रममा अपराह्न ५ बजेतिर बैंकमा प्रवेश गरी २ लाख ५० हजार रुपैयाँ नगद, तीन थान सुनका बाला, एउटा बेरुवा औंठी र लकेटसहितको सिक्री लुटेका थिए। उनले बैंकबाट एउटा कुर्सी पनि चोरी गरेको खुलेको छ। प्रहरीको खोजतलासपछि ती गहना र कुर्सी सबै फिर्ता गरिएको छ।

लुटिएको रकम र आफूसँग भएको थप १ लाख ७२ हजार रुपैयाँ जोडेर श्रेष्ठले भदौ २९ गते भक्तपुर सूर्यविनायकस्थित एक्स्ट्रिम मोटो डिल्स नामक पसलबाट रातो–कालो रङको रोयल एनफिल्ड (बागमती प्रदेश ०२–०४६प ०४४४) मोटरसाइकल खरिद गरेका थिए। उनले पुरै रकम तिरे पनि मोटरसाइकल पास प्रक्रिया भने बाँकी थियो।

श्रेष्ठले बयानमा भनेका छन्, “मैले बैंकबाट लुटेको रकमले मोटरसाइकल किनें, तर नामसारी गर्न नपाई पक्राउ परें।” उनी आफ्नी श्रीमती र दुई छोरासहित नयाँ बानेश्वरमा बस्दै आएका थिए र साना व्यावसायिक काममा संलग्न थिए।

यसै प्रकरणमा बैंक लुटपाटमा संलग्न अर्का एक नाबालकलाई नेपाली सेनाले काभ्रेको भकुण्डेबेसीबाट पक्राउ गरेको थियो। सिरहा घर भएका ती नाबालकको साथबाट ३ लाख ५० हजार रुपैयाँ नगद र सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ।

नाबालकले भने आफूले “भीडमा खसेको पोको उठाएर लगेको” मात्र दाबी गरे पनि प्रहरीका अनुसार उनी पनि लुटपाटको क्रममा उपस्थित थिए। उनी काठमाडौँमा घर बनाउने ज्यामीका रूपमा काम गर्दै आएका थिए।

बैंकका सुरक्षागार्डका अनुसार भदौ २४ गते साँझ ५ बजेतिर ठूलो समूह आएर बैंकमा आक्रमण, तोडफोड र आगजनी गरेको थियो। यसअघि नै बैंकको सिसा फुटाइसकिएको थियो।

वाणिज्य बैंकका शाखा प्रबन्धक प्रद्युम्न कार्कीद्वारा दर्ता उजुरी अनुसार, लुटपाटबाट बैंकको ३७ करोड ८५ लाख ९८ हजार रुपैयाँ बराबरको नगद र सुनका गहना हराएका थिए। साथै तोडफोड, आगजनी, सीसीटीभी र कम्प्युटर नष्ट हुँदा बैंकको भौतिक सम्पत्तिमा करिब ४ करोड १३ लाख रुपैयाँ क्षति भएको बैंकले दाबी गरेको छ।

यस डकैतीमा संलग्न ठहरिएमा कानुन अनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद, ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, र क्षतिपूर्ति भराइने व्यवस्था छ। नाबालकविरुद्धको मुद्दा भने जिल्ला अदालत भक्तपुरमा छुट्टै दर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्