देशभर हल्कादेखि मध्यम वर्षा र हिमपात
काठमाडौँ,११ कार्तिक । देशमा अहिले पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ, जसले गर्दा देशभर मौसममा बदली आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ।
आज सबैभन्दा कम तापक्रम जुम्ला र जोमसोममा एक डिग्रीसम्म पुग्ने सम्भावना छ। सबैभन्दा बढी तापक्रम भने विराटनगर र जनकपुरमा ३२ डिग्रीसम्म पुग्ने देखिन्छ। महाशाखाले विभिन्न सहरहरूमा पानी पर्ने सम्भावना रहेको पनि अनुमान गरेको छ।
उता, तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । सोलुखुम्बुको नाम्छे लगायत सगरमाथा क्षेत्र,मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ,म्याग्दी, रुकुम पूर्वलगायतका जिल्लाका उच्च क्षेत्रमा पनि भारी हिमपात भइरहेको छ।उच्च हिमाली भेगमा ट्रेकिङका लागि पुगेका पर्यटकहरु हिमपातका कारण बाटोमै अलपत्र पर्न थालेका छन् भने सम्बन्धित जिल्ला प्रशासनहरुले ट्रेकिङका लागि नआउन सार्वजनिक सूचना जारी गरेका छन्।
राष्ट्रिय विपत प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेलले अहिलेको मौसम परिवर्तनले किसान र हिमाली क्षेत्रमा ट्रेकिङका लागि निस्किएकाहरु बढी प्रभावित हुन सक्ने बताए।

