महाराजगन्ज बृत्तका दुई प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा थप ५ जना पक्राउ
काठमाडौँ,९ कार्तिक । भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ,तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ छन् । सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर पनि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । उनीहरुले कुटपिट गरेर महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
सुमित तितुङ र दीपक मगरलाई प्रहरीले असार ३१ देखी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न अरू ३ जना आरोपीचाहिँ कार्तिक ३ मा पक्राउ परेका हुन् ।

