सुशीला कार्कीको नैतिकताबारे प्रश्न उठाउँदा मलाई पक्राउ गर्न खोजिदैँ छ : स्वागत नेपाल



काठमाडौं,४ कार्तिक । अधिवक्ता स्वागत नेपाललाई प्रधानमन्त्री सुशीला कार्कीको नैतिकतामा प्रश्न उठाएको आरोपमा साइबर ब्युरोले पक्राउ गर्न खोजेको छ।अधिवक्ता नेपालले पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बन्नु संविधान विपरीत भएको बताएका छन्।

नेपालले सुशीला कार्कीको कदमलाई अभिव्यक्ति स्वतन्त्रता विरोधी र निरङ्कुशतापूर्ण रहेको आरोप लगाएका छन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको खुलासा भएको छ ।

ब्युरोले फोन गरेर उपस्थित हुन भनेको अधिवक्ता नेपालले सामाजिक सञ्जालमार्फत बताएका छन् । अधिवक्ता नेपालले नेपालको संविधान अनुसार पूर्व प्रधानन्यायाधीश भैसकेको व्यक्ति प्रधानमन्त्रीजस्तो कार्यकारी हैसियतमा बस्न नहुने बताउँदै आएका थिए ।

‘आफ्नै विज्ञप्ति र निर्णयविपरित उहाँ सांसदबाट पूर्व प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नुभयो संविधानबाहिरबाट’, उनले भनेका छन्, ‘यो संसारकै अनैतिकता हो ।’

उनले संविधानविपरित कार्य हुँदा नैतिकताको प्रश्न यसअघि पनि सबै दलका प्रधानमन्त्री हुँदा समेत उठाएको र पक्राउ परेको भन्दै जेनजीले जायज माग उठाउँदा सुधार गर्नुपर्नेमा निरङ्कुशता लाद्न खोजेपछि चर्किएको बताएका छन् । साथै उनले सुशीला कार्कीले १० करोड घुसको सार्वजनिक गरेको प्रसङ्ग फेरि पनि उठाउने बताएका छन् ।

प्रहरीले गरेको फोनमा आफूले कुरा गर्दा ‘तिहार मनाउनुस्’ भन्ने जवाफ आएको भन्दै आफूलाई तिहार पछि पक्राउ गर्ने तयारी रहेको बुझेको बताएका छन् । उनले आन्दोलनको माग संविधानभन्दा बाहिरबाट समाधान गर्न खोज्नु जायज नहुने भन्दै अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सुशीला कार्कीले उठाएको कदम यसअघिका सरकारभन्दा पनि निरङ्कुश रहेको दाबी गरेका छन् ।

नेपालको संविधानको ७६ ले गैरसांसद प्रधानमन्त्री बन्ने छुट दिँदैन । त्यस्तै धारा १३२ (२) मा ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन’ भन्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्