एमाले अध्यक्ष ओलीले भने -‘राजीनाबारे महाधिवेशनमा छलफल हुन्छ’



काठमाडौं,३१ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजीनाबारे महाधिवेशनमा छलफल गर्ने बताएका छन्।

शुक्रबार केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य व्यक्त गर्ने क्रममा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफ्नो काँधमा रहेको जिम्मेवारी पूरा नगरी नछाड्ने बताउँदै राजीनामाका बिषयमा प्रतिनिधिहरुसंग फैसला माग्ने बताएका हुन्।
उनले पार्टीलाई तिक्ततामा नलगि ‘मित्रतासाथ’ लानुपर्ने पनि बताए ।
‘केही साथीले राजीनामा माग्नु भएको छ। ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ। मेरो काँधमा जिम्मेवारी छ। त्यो पूरा नगरी छोड्दिनँ। मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला। त्यहाँ छलफल होला। प्रतिनिधिहरूसँग फैसला मागौंला।’-उनले भने।

अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीश भइसकेकी सुशीला कार्की प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन्। कार्कीले नै पद अस्वीकार गर्नुपर्ने पक्षमा आफू रहेको पनि उनले बताएका थिए।

‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो, उहाँले नै अस्वीकार गर्नुपथ्र्यो। मैले त केयर टेकर (काम चलाउ) प्रधानमन्त्रीको रूपमा सबैसँग छलफल गर्नुस् भनेको थिएँ। मैले छलफल गर्न पाइनँ। म त सैन्य सुरक्षामा थिएँ। सायद उहाँहरूले हामीसँग संवाद नगर्ने भन्नु भएको होला,’ ओलीले बैठकमा भने।

मौजुदा सरकारले आफूलाई पक्राउ गर्न खोजेको पनि अध्यक्ष ओलीले आरोप लगाए।ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई थुन्न सल्लाह गरिरहेको दाबी गरे ।

‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो । कहीँ, कतै केही भेटिएन । जेन–जीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार लगातार प्रयासमा छ,’ ओलीले सुनाए । तर, आफूलाई थुन्नुपर्ने जेन–जीको माग नरहेको ओलीले दाबी गरे । ‘जेन–जीले यो माग गरेका छैनन्,’ ओलीले भने ।जेन–जी दलका विरुद्ध नरहेको बताइरहेको दाबी गर्दै ओलीले भने, ‘उनीहरूले संविधानविरुद्ध छैनौँ भनेका छन् ।’

प्रतिक्रिया दिनुहोस्