भ्रष्ट र बदमासलाई चुनाव जित्न नदिन जेनजी युवालाई राष्ट्रपति पौडेलको आग्रह
काठमाडौँ,३१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनमा भ्रष्ट र बदमासलाई हराएर राष्ट्रको काँचुली फेर्ने महाभियानका रूपमा लैजान जेनजी युवाहरूलाई आग्रह गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीवार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियन्तासँगको छलफलमा उनले यस्तो आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।राष्ट्रपति पौडेलले युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा जेनजीका प्रतिनिधिलाई राखेर छलफल गरेको बताएका थिए।
जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचारविरुद्ध भएको उल्लेख गरेका थिए। उनीहरूले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै आन्दोलनलाई मान्यता दिँदै आन्दोलनका माग पूरा हुनुपर्ने दृढता व्यक्त गरेका थिए।
उनले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नयाँ चुनाव घोषणा गरिएको उल्लेख गरे।
‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमासले जित्न नपाऊन्, असल र इमान्दारहरूले जितेर आऊन्’‚ राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै पोखरेलले भने‚ ‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ। युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्था अन्त्य हुनुपर्छ।’
उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिमा रहेको राष्ट्रिय एकता प्रवर्धन गर्ने अधिकार प्रयोग गरी यो अन्तरिम सरकार गठन भएको स्पष्ट पारे।
बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए।
बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उपार्जुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए।

