आङ जाङबु शेर्पा एनआरएनए अमेरिकाको सल्लाहकार मनोनीत
दावा जाङ्बु शेर्पा,काठमाडौ,२८ असोज ।एनआरएनए अमेरिकाले आङ जाङबु शेर्पालाई सल्लाहकारमा मनोनीत गरेको छ

गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाले सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–१ निवासी आङ जाङबु शेर्पालाई आफ्नो नयाँ कार्यसमितिको सल्लाहकार पदमा मनोनीत गरेको हो। उहाँले लामो समयदेखि अमेरिकामा बसेर नेपाली समुदाय,विशेषगरी शेर्पा समुदायको हकहित र पहिचानको संरक्षणका लागि उल्लेखनीय योगदान पु–याउँदै आउनुभएको छ।
शेर्पा हाल विश्व शेर्पा संघ (World Sherpa Federation) का महासचिव रहनुभएको छ। साथै उहाँ शेर्पा किदुग अमेरिका (Sherpa Kyidug America) का महासचिवसमेत हुनुहुन्छ। यसअघि उहाँ शेर्पा संघ अमेरिका (Sherpa Association of America) का अध्यक्ष रहनुभएको थियो। विभिन्न संघसंस्थामा सक्रिय भएर समुदायबीच एकता, सहयोग र सांस्कृतिक पहिचान प्रवर्द्धनमा उहाँको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
आङ जाङबु शेर्पाको यो मनोनयनले अमेरिकास्थित नेपाली र शेर्पा समुदायबीच थप उत्साह र एकताको भावना बढाउने अपेक्षा गरिएको छ। उहाँले आफ्नो जिम्मेवारी पूरा निष्ठा, अनुभव र पारदर्शिताका साथ पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले NRNA अमेरिकाको सल्लाहकारको रूपमा काम गर्दै नेपाली प्रवासी समुदायका समस्या समाधान, नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिको संरक्षण, र नेपालको विकासमा प्रवासीहरूको योगदान बढाउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

