मोरङको डेल्टा इंग्लिस स्कुलले पायो मलेसियामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड
दिप खालिङ,बिराटनगर २८ असोज। मोरङको बेलबारी नगरपालिका–४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्सद्वारा आयोजना गरिएको “इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२५” मा विद्यालयले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदानका लागि अवार्ड प्राप्त गरेको हो।

सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भव्य समारोहमा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, भारत, बांग्लादेशलगायत विभिन्न देशका प्रतिष्ठित विद्यालय, संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको हो।
विद्यालयका संस्थापक अध्यक्ष पर्वत राईले उक्त अवार्ड ग्रहण गरेका थिए। अवार्ड समारोहमा सहभागी हुन राई गत हप्ता सिंगापुर र थाइल्यान्ड हुँदै मलेसिया पुगेका थिए। उनी सानो उमेरदेखि नै शिक्षाक्षेत्रमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेसनल प्याब्सन (National PABSON) का मोरङ जिल्ला कार्यसमिति उपाध्यक्ष र केन्द्रीय उप–समिति अन्तर्गत इभेन्ट म्यानेजमेन्ट सदस्यको जिम्मेवारीमा रहेका छन्।साथै निज राई किरात खालिङ राई उत्थान सङ्घ शाखा मोरङ्को अध्यक्ष समेत रहनु भएको छ।
संस्थापक अध्यक्ष राईका अनुसार, विद्यालयले “संस्कारसहितको आधुनिक शिक्षा” प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो। छोटो समयमै बेलबारी क्षेत्रका अभिभावकहरूको विश्वास जित्न सफल विद्यालयले गुणस्तरीय र समयानुकूल शिक्षा प्रदान गर्दै आएको छ।
अवार्डले विद्यालय परिवारको उत्साह बढाएको र यसले सम्पूर्ण बेलबारी नगरको गौरव समेत बढाएको विद्यालयले जनाएको छ।

