डीएनए परीक्षणपछि बिपिन जोशीको शव परिवारलाई बुझाइने



काठमाडौं,२८ असोज । हमासको कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइपुर्‍याइएको छ । इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्‍याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।

हमासले गएराति इजरायललाई चार बन्धकको शव फिर्ता गरेको हो । त्यसमध्येका एक हुन् विपिन जोशी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशी कृषि अध्ययनरत विद्यार्थी थिए ।

उनी लर्न एन्ड अर्न कार्यक्रम अन्तगर्त सन् २०२३ मा इजरायल पुगेका थिए । उनी इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिम क्षेत्रमा थिए । सोही स्थानबाट ७ अक्टोबर २०२३ मा अपहरण गरिएको थियो । विपिनसहित गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव पनि हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको हो ।

यसअघि, हमासले दिउँसो सबै २० इजरायली बन्धकहरूलाई रिहा गरेको थियो । उनीहरूलाई दुई समूहमा छोडिएको थियो । अब हमाससँग कुनै पनि जीवित इजरायली बन्धक नरहेको बताइएको छ । यसको बदलामा इजरायलले हालसम्म २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ ।

इजरायलका विभिन्न अस्पतालहरूमा रिहा गरिएका बन्धकहरू आफ्ना परिवारसँग पुनर्मिलन हुँदा वेस्ट बैंक र गाजापट्टीमा मुक्त भएका प्यालेस्टिनी कैदीहरूले आफन्तहरूलाई भेट्दा भावनात्मक दृश्यहरू देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी गराएका छन् ।

विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको र शवको डीएनए परीक्षणको तयारी भइरहेको राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्