‘जेन जी’ को मन्त्री सिफारिसमा किर्ते काण्ड !
काठमाडौं,२७ असोज । जेन-जीका तर्फबाट भन्दै आईतवार केही मन्त्री र राज्यमन्त्रीको नाम मन्त्रीमा सिफारिस भएको पत्र सार्बजनिक भयो।

पत्रमा मिराज ढुंगानालाई गृह मन्त्री,सि.पि श्रेष्ठलाई पर्यटन तथा उड्डयन मन्त्री र सोही मन्त्रालयको राज्यमन्त्री,दिवाकर डंगोललाई महिला तथा बालबालिका मन्त्री र रक्षा बमलाई सोही मन्त्रालयको राज्यमन्त्री,जस्मिन ओझालाई सहरी बिकास राज्यमन्त्री,प्रबेश दाहाललाई श्रम तथा रोजगार राज्यमन्त्री र ओजस्वी राज थापालाई बन तथा बाताबरण राज्य मन्त्रीका रूपमा सिफारिस गरिएको उल्लेख थियो।
अभिषेक श्रेष्ठको अध्यक्षतामा बैठक बसेको बैठकले गरेको सिफारिस भन्दै उपस्थितिको हस्ताक्षरसहितको पत्र सार्बजनिक भएपछि ‘जेन जी’ मा किर्ते काण्ड चर्कने भएको छ । पत्र सार्बजनिक भएसंगै अभियन्ता प्रवेश दाहाल,रक्षा बम र युजन राज भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो नाम र हस्ताक्षर किर्ते गरी नक्कली कागजात सार्वजनिक गरिएको आरोप लगाउँदै संलग्नहरूविरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएसंगैं जेन जी मा किर्ते काण्ड चर्कने भएको हो।बैठकको निर्णय भन्दै सार्बजनिक भएको सो पत्रमा रक्षा बम र युजन राज भण्डारीलगायत ९ जनाको नाम र हस्ताक्षर समेत समावेश छ।
तर, कागजात सार्वजनिक भएलगत्तै रक्षा बम र युजन राज भण्डारीले एक भिडियो सन्देश जारी गर्दै उक्त निर्णय र त्यसमा भएको आफ्नो हस्ताक्षर पूर्ण रूपमा नक्कली भएको स्पष्ट पारेका छन्।
‘अहिले भर्खरै सार्वजनिक भएको एउटा मिटिङको माइन्युटमा हामी दुईजनाको समेत नाम उल्लेख गरेर हाम्रो किर्ते हस्ताक्षर गरी मन्त्रिमण्डलको सिफारिस सार्वजनिक भएको छ,’ भिडियोमा रक्षा बमले भनेकी छिन्, ‘त्यसमा हाम्रो कुनै किसिमको सहभागिता छैन। हामी त्यस्ता कुनै पनि बैठक वा छलफलमा सहभागी छैनौँ।’

