मुलुकलाई अनावश्यक तिक्तता र मुठभेडतिर लैजान सरकार उद्धत देखिएको एमालेको आरोप



काठमाडौँ,२४ असोज । नेकपा एमालेले सुशीला कार्की नेतृत्वको
वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता र मुठभेडतिर लैजान उद्धत देखिएको आरोप लगाएको छ।

शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपश्चात् सञ्चारकर्मीसंग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले त्यस्तो आरोप लगाएका हुन।उनले राष्ट्रिय एकताका लागि दलहरूलाई साथमा लिनुपर्नेमा त्यस्ताे नगरी सरकार निषेधकाे बाटाेतर्फ अघि बढेकाे पनि बताए।

ज्ञवालीले तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउन सरकार लाग्न नसकेकाले सरकार राजनीतिक अस्वस्थता बढाउन लागेको आशंका रहेको उल्लेख गरे । प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नेलाई गृहमन्त्री ओमप्रकाश अर्यालको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको कामप्रति गम्भीर आपत्ति रहेको उनले बताए ।

बैठकमा जेन-जी आन्दोलनपछिको अवस्थाबारे सघन रूपमा छलफल भएको उनले बताएका छन् । ज्ञवालीले जेन-जी युवाका आवाज स्वाभाविक भए पनि आन्दोलनका नाममा भएको घटनाको गम्भीरताका साथ छानबिन हुनुपर्नेमा एमालेको जोड रहेको बताए ।

उनले जेन-जी आन्दोलनलाई आधार बनाएर भाद्र २४ गते भएको घटना लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएकाले सत्य तथ्य छानबिन हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै एमालेको महाधिवेशन छिटै आयोजना गर्नुपर्नेमा नेताहरूको जोड रहेको उल्लेख गर्दै उनले शनिबार बस्ने पदाधिकारीको बैठकले महाधिवेशनको प्रस्ताव तयार गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्