वर्षा गराउने प्रणाली बाहिरिएसँगै कमजोर बन्यो मनसुन,मौसममा क्रमिक सुधार आउँदै



काठमाडौं,१९ असोज। नेपालमा सक्रिय रहेको न्यून चापीय मौसम प्रणाली बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीसँगै मनसुन कमजोर बन्दै गएको र देशभरको मौसममा क्रमिक सुधार आएको महाशाखाकी प्रवक्ता विभूति पोखरेलले बताइन् ।

महाशाखाले आइतबार जारी गरेको विज्ञप्ति अनुसार असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुनको प्रभावले मधेस र बागमती प्रदेशका धेरैजसो क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएको थियो । कोशी प्रदेशमा पनि मध्यमदेखि अति भारी वर्षा रेकर्ड गरियो ।

शनिवारदेखिको अवधिमा देशभरका २९५ वर्षा मापन केन्द्रमध्ये १८६ स्थानमा वर्षा मापन भएको थियो । जसमध्ये १०५ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २१ केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र ५ केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुरमा ३५८ मिलिमिटर रेकर्ड गरिएको छ । त्यस्तै, पर्साको मुडलीमा ३२८.६ मिलिमिटर, इलामको हिमाली गाउँमा ३३२.६ मिलिमिटर, कन्यामटीमा ३१४.२ मिलिमिटर र गौरमा ३१५ मिलिमिटर वर्षा भएको छ ।

लगातारको वर्षाले बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको भए पनि हाल घट्दो क्रममा छन् । सप्तकोसी नदी र यसका सहायक नदीहरू तमोर, सुनकोसी र अरुणले खतरा तह पार गरे पनि हाल बहाव घट्दो अवस्थामा छ ।

चुरे–महाभारत क्षेत्रबाट बग्ने कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङ नदीहरू पनि खतरा तह पार गरेर घट्दै छन् । यद्यपि, कोशी नदीको चतरा केन्द्रमा बहाव खतरा तह नजिक स्थिर रहेकाले असोज २० गते मध्यान्हसम्म तटीय र डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मनसुन कमजोर भएसँगै मौसम क्रमशः सफा हुँदै गए पनि जोखिम पूर्ण रूपमा हटी नसकेको महाशाखाले जनाएको छ । तटीय क्षेत्रका बासिन्दालाई नदीको बहाव र सम्भावित डुबानप्रति सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्