जोखिमको परिस्थिति बढ्ने क्रममा रहेको भन्दै के भनिन् प्रधानमन्त्री कार्कीले ? (सम्बोधनको पूर्ण पाठ)



आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ । हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौँ र जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदी नालाहरुको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।

यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन् । यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा रहेका छन् ।

हामीले सबै उपलब्ध स्रोतहरु परिचालन गरेका छौँ र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । हामी महत्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरु पुनः खोल्नलाई प्राथमिकता दिनेछौँ । हाम्रा टोलीहरुले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु । तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस् । अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस् । बाढीको पानीमा वा पहिरोमा गाडी नचलाउनुहोस् वा आवातजावत नगर्नुहोस् । तीव्र बहाव, डुबान र अस्थिर सडकहरुको खतरा उच्च छ ।

यदि तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस । प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरुलाई ध्यान दिनुहोस् । तपाईंहरुको सुरक्षा नै हाम्रो सरोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस् । सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

हामी तपाईहरुको चिन्ता र कठिनाइलाई बुझ्छौँ । म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोतहरु आज तपाईंहरुसँग छन् । हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ । हामी नियमित रुपमा अद्यावधिक सूचना तथा जानकारीहरु प्रसारण गरिरहनेछौँ । अन्तमा यहाँहरुसँग मेरो अनुरोध छ, यहाँहरु सुरक्षित र सावधानीपूर्वक रहनुहोस् ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्