फिर्ता मागियो पूर्वनेता तथा प्रशासनिक पदाधिकारीसँग रहेका गाडी र सुरक्षाकर्मी
काठमाडौं,११ असोज । राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेका तर जिम्मेवारीबाट बिदा भएपछि आफैंसँग लगेका गाडीलगायत सुविधाहरू सरकारले फिर्ता मागेको छ ।

पूर्वनेता तथा प्रशासनिक पदाधिकारीसँग कानुनबमोजिम रहेका बाहेकका गाडी र सुरक्षाकर्मी फिर्ता मागिएको हो । अर्थ मन्त्रालयले शुक्रबार पत्राचार गर्दै कानुनबमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न–गराउन अर्थ र रक्षा मन्त्रालयलाई पत्राचार गरिएको प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी गराएका छन् ।
गृह र रक्षा मन्त्रालयले यसरी प्रयोग भइरहेका सवारीसाधन फिर्ता गर्न तथा सुरक्षाकर्मी फिर्ता पठाइदिन पूर्वपदाधिकारीलाई पत्राचार गरेको हो । पत्राचारमा पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गरिने व्यहोरा उल्लेख गर्दै अर्थ मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रिपरिषद् निर्णयको कार्यान्वयन गर्न सवारीसाधन तथा सुविधा फिर्ताका लागि पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको पत्रमा ‘अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०८२–०६–०५ मा भएको निर्णयबमोजिम सेवा निवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नु–गराउनु हुन’ भन्ने व्यहोरा उल्लेख छ ।

