बिभाग गठन खारेज नगरे देउवाबिरुद्ध चरणबद्ध आन्दोलन : पौडेल समूह



काठमाडौं, २१ भाद्र। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मनोमानी ढंगबाट बिधान बिपरित भएका विभाग गठन र मनोनयन तत्काल खारेज गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ।

कांग्रेसको विधानअनुसार महाधिवेशन सकिएको ६ महिनाभित्रमा विभाग गठन गर्नुपर्नेमा कार्यकाल सकिएपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा देउवाले विभाग गठन लगायतका काम जारी राखेपछि इतर समूहका नेताको शनिबार बसेको बैठकले सो आग्रह गरेको हो।

नेपाली कांग्रेसका ४७ वटा विभागमध्ये देउवाले २० वटा विभागमा नेताकार्यकर्तालाई जिम्मेवारी दिएका छ्न्।
देउवा इतर पक्षले सभापति देउवाले विधानविपरीत गरेका कामको अध्ययन गर्न केन्द्रीय सदस्यहरू गुरु घिमिरे, जीवन परियार र बद्री पाण्डे रहेको समिति बनाएको थियो।

समितिले सभापतिलाई अल्टिमेटम दिने, देशभर अन्तरक्रिया, धर्ना, पदाधिकारीबाट राजीनामा, आफूनिकटका भ्रातृ संस्थाका पदाधिकारी फिर्ता बोलाउने लगायतका प्रस्ताव गरेको थियो। बैठकमाम यिनै विषयमा छलफल केन्द्रित भएको नेताहरुले बताएका छन्।

जुम मिटिङमार्फत गरिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, महेश आचार्य, गुरु घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, जीवन परियार, बद्री पाण्डे, गगन थापालगायत सहभागी थिए

‘विगतमा पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाएका थियौं। त्यसैको निरन्तरताअनुसार बैठक बसेको हो,’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘पार्टीका वरिष्ठ नेता, निर्वाचित महामन्त्री, कोषाध्यक्ष लिखित रुपमा बुझाउदा पनि मतलब गरिएको छैन।’

जिल्ला तहमा रहेको विवाद तथा अन्य थुप्रै समस्या समाधान नगरेसम्म महाधिवेशन निष्पक्ष हुन्छ भन्ने विश्वास नभएको बैठकको ठहर छ।

‘महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति देउवाले एकलौटी विभाग गठनलगायत पार्टी विधानविपरीतका गतिविधि जारी राख्नुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यी सबै गतिविधि तत्काल रोक्न बैठकले भनेको छ। नभए देउवाविरुद्ध चरणबद्ध दबाब कार्यक्रम अघि बढाइनेछ।’

प्रतिक्रिया दिनुहोस्