थुलुङ दुधकोशीमा बृहत कबि गोष्ठी तथा कविता प्रतियोगिता सम्पन्न, निशव्दले ओगटे प्रथम स्थान
सोलुखुम्बु,१६ जेठ। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा बृहत कबि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ।

गाउँपालिकाद्वारा गठित थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रबार सम्पन्न कबि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा ६२ जना कबिले आ-आफ्ना कविता बाचन गरेका थिए। प्रतियोगितामा शम्भु निशब्द प्रथम,लेखनाथ कटेल द्वितीय,निर्मला बस्नेत तृतीय तथा विनिता बस्नेत र लक्ष्मी काफ्ले चौथो भएको प्रज्ञा प्रतिष्ठानका संयोजक सुबास संगम राईले जानकारी दिए।
वरिष्ठ कवि एवं गीतकार श्रवण मुकारुङ,साहित्यकार डा. रेणु सोलु, प्रसिद्ध कविद्धय स्वप्निल स्मृति,सोझो गाउँलेको उपस्थिति रहेकोमा प्रतियोगितामा गाउँपालिका अध्यक्ष अशिम राईले बिजयी प्रतियोगीहरुलाई पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए।पहिलो स्थान प्राप्त शम्भु निशब्दले ३० हजार रुपैयाँ, दोस्रो स्थानका लेखनाथ कटेलले २० हजार,तेस्रो स्थानका निर्मला बस्नेतले १५ हजार, र चौथो स्थान प्राप्त बस्नेत र काफ्लेले जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।
अध्यक्ष राईले प्रतियोगिताले गुम्सिएर रहेको भावना प्रस्फुटन गर्न र सिर्जनशील क्षमता अभिबृद्दी गर्न मात्र नभई शब्दका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने धारणा व्यक्त गरे।
थुलुङ दुधकोशी गाउँपालिकाले भाषा,साहित्य र संस्कृतिको बिकासलाई प्राथमिकतामा राखेर जिल्लामै पहिलो प्रज्ञा प्रतिष्ठान गठन गरेको स्पष्ट गर्दै अग्रज र अनुज कविहरुसंग एकै पटक साक्षात्कार गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाई थियो।











