मुलुकभरका स्थानीय तहमध्ये बेरुजु नियन्त्रणमा सोलुदुधकुण्ड दोश्रो,कोशी प्रदेशमा पहिलो बन्न सफल



सोलुखुम्बु,१ जेठ ।आर्थिक वर्ष २०८०/८१ मा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका मुलुकका ७५३ स्थानीय तहमध्ये बेरुजु नियन्त्रणमा राष्ट्रिय स्तरमा दोश्रो र कोशी प्रदेशमै पहिलो स्थानीय तह बन्न सफल भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको १ अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गर्दा जम्मा ०.०१ प्रतिशत अर्थात १ लाख २१ हजार ८ सय रुपैयाँ बेरुजु कायम गरेर सोलुदुधकुण्डले सो सफलता प्राप्त गरेको हो।महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक बर्ष २०७९/८० मा राष्ट्रिय स्तरमा प्रथम भने काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका बनेको छ। सो गाउँपालिकाको १ अर्ब २७ करोड ९४ लाख,५५ हजार लेखा परिक्षण गर्दा बेरुजु शून्य देखिएको हो।

आर्थिक अनुशासन र बित्तीय सुशासनको मापकका रुपैयाँ बेरुजु झण्डै शून्यमा झारेर सोलुदुधकुण्ड नगरपालिकाले सुशासनमा आफुलाई अब्बल रूपमा स्थापित गरेको छ।

महालेखा परीक्षकको प्रतिवेदनमा सार्बजनिक तथ्यगत विवरण सोलुदुधकुण्ड नगरपालिकाको उल्लेखनीय सफलता भएको बताउंदै नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले यो सफलता स्थानीय शासनमा सुशासन, पारदर्शिता र समावेशी विकासको प्रतिफल भएको प्रतिक्रिया ब्यक्त गर्नुभएको छ ।

बिहिवार एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै नगरप्रमुख शेर्पाले सोलुदुधकुण्ड नगरपालिका निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखी स्थानीय शासनको अभ्यास गर्दै आएको दावी गर्दै सुशासन र वित्तिय अनुशासनप्रतिको हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्ने खालको प्रमाण स्वरूप महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको उल्लेख गर्नुभएको छ ।

‘यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जनप्रतिबद्ध नेतृत्वको प्रतिफल हो’ वहाँले भन्नुभएको छ-‘हाम्रो नेतृत्व लोकतान्त्रिक अभ्यासमा आधारित छ, जसले पारदर्शिता, सेवा-मुखी शासन र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको छ।’

सोलुदुधकुण्ड नगरपालिकाको सफलता केवल वित्तिय अनुशासनको सीमामा सीमित नभई यो सामाजिक समावेशिता, जनसहभागिता र सामुदायिक विश्वासमा आधारित समग्र प्रयासको परिणाम भएको उल्लेख गर्दै नगरप्रमुख शेर्पाले अगाडि भन्नुभएको छ,’हामी सबै वर्ग, समुदाय र भौगोलिक क्षेत्रका नागरिकहरूलाई समेटेर ‘समृद्ध नगर, सशक्त समुदाय’ निर्माणमा समर्पित छौं।’

पारदर्शी लेखापरीक्षण प्रणाली,नागरिकमैत्री सेवा प्रवाह,पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा,सुलभ स्वास्थ्य सेवा,वातावरण संरक्षण तथा समावेशी कार्यक्रमहरू नगरपालिकाको प्रमुख प्राथमिकता रहेको नगरप्रमुख शेर्पाको भनाई छ।वहाँले वित्तिय अनुशासनसँगै,भौतिक, सामाजिक र मानव विकासका सूचकहरूमा पनि गुणात्मक सुधार ल्याउन नगरपालिका कटिबद्ध रहेको पनि बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

आगामी दिनहरूमा अझ समावेशी, पारदर्शी र नवप्रवर्तनशील स्थानीय शासनतर्फ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख शेर्पाले हाल प्राप्त सफलतामा योगदान पुऱ्याउनु हुने सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला, विकास साझेदार तथा सहयोगीहरूप्रति धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्