प्रधानमन्त्रीसँग कुम जोडेर बस्दा पनि सांसद पन्थीलाई पक्राउ नगरिएको भन्दै माओवादी केन्द्रको आपत्ति




फाईल तस्बिर
काठमाडौं,३० बैशाख । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाए। प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी रहेका थिए।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए। राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले सुशासनको कुन यो कस्तो नमूना हो ? भन्दै प्रश्न गरे।

पन्थीविरुद्ध ०८१ जेठमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो। तर, उनी अझै पक्राउ परेका छैनन् ।

विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट पाल्पाको सिस्नेस्थित एक हाइड्रोपावर कम्पनीका लागि सामान खरिद गरेर पैसा चुक्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पुर्जी लिएर पन्थीलाई पक्राउका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्र पठाएको थियो।

कपिलवस्तु वाणगंगा नगरपालिका राजपुरका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्