आफ्नै श्रीमानको हत्या अभियोगमा खोटाङकी एक महिला र श्रीमतीको हत्या अभियोगमा झापाका एक पुरुष पक्राउ



खोटाङ,२८ वैशाख । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा खोटाङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चचिडिङ बस्ने ५३ वर्षीया रेनुका राई छन्। श्रीमान ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा प्रहरीले शनिबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो।

बिबादका क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूरण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको थियो।

उता,आफ्नै श्रीमती ३४ वर्षीया पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्‌काई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ। कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्‌गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्