प्रज्ञा भवन परिसरबाट पक्राउ परे नाउपाका संरक्षक रेशम चौधरी



काठमाडौं,१७ बैशाख । सीके राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकता घोषणाको तयारी भइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ परेका छन्।

एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा आयोजित कार्यक्रम जाँदै गर्दा प्रज्ञा भवन परिसरबाट सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ। पक्राउ परेका चौधरीलाई हाल डिल्लीबजार कारागार राखिएको छ्। उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले अहिलेसम्म खुलाएको छैन।

२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए। उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए। त्यसपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए।

५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि उनी रिहा भएका थिए। तर, उनको रिहाईको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। निवेदक कडायत उक्त घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी हुन्। उक्त रिटउपर सुनुवाइ सकिएको छैन।

प्रतिक्रिया दिनुहोस्