राष्ट्रपति महिला उद्दार कार्यक्रम लागू भए यता ११ गर्भवती तथा सुत्केरी महिलाको उद्दार

सोलुखुम्बु,९ भाद्र । राष्ट्रपति महिला उद्धार कार्यक्रमवाट सोलुखुम्बुमा पुनः दुई जनालाई उद्धार गरी थप उपचारका लागि काठमाण्डौ लगिएको छ । सोलु अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि सोलुदुधकुण्ड नगरपालिका ७ की गर्भवति महिला बिनिता लामिछाने र माप्यदुधकोशी गाउँपालिकाका एक नवजात शिशुलाई हेलिकोप्टरवाट मंगलबार काठमाण्डौ लगिएको हो ।

माप्यदुधकोशी गाउँपालिका वाकुकी बिनिता मगरले ३३ हप्तामा बच्चालाई जन्म दिएको सोलुदुधकुण्ड नगरपालिका ७ की बिनिताको ३१ हप्ताको गर्भ रहेको अस्पताल श्रोतले जनाएको छ । नवजात शिशुमा श्वासप्रश्वास र गर्भवति महिलामा रगत सम्बन्धी समस्या रहेको बताइएको छ ।
यो संगै राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि सोलुखुम्बुबाट ११ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।
आर्थिक बर्ष २०७५।०७६ बाट कार्यक्रम सुरु भएपछि महाकुलुङ गाउँपालिकाका ४ जना, सोताङ र खुम्बु पासङल्हामु गाउँपालिकाका २।२ जना तथा नेचासल्यान गाउँपालिकाका र सोलु दुधकुण्ड नगरपालिकाका १।१ जना रहेको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिनुभयो ।
सुरुवाती चरणमा उद्धार गरिएका १ जनाको भने ठेगाना उल्लेख नभएको कार्यालयले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई तीव्रता दिएको हो ।
सो कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई जिल्ला प्रसाशन कार्यालयको समन्वयमा उद्धार गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार सोलुखुम्बु सहित २९ जिल्लामा पूर्णरूपले र अन्य केहि जिल्लाहरुमा आंशिकरुपले सो कार्यक्रम लागू भएको छ ।

