शताब्दी पुरुष स्वर्गीय बस्नेतको श्रद्धाञ्जली सभामा निष्ठा र इमान्दारिताको चर्चा



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुनसुकै पेशा- ब्यबसायमा आवद्ध भए पनि त्यसमा निष्ठापूर्बक लागेको खण्ड सम्मान र सफलता दुबै प्राप्त गर्न सकिने बताएका छन् ।

नेपाली कांग्रेस जेष्ठ राजनीतिक सभा सदस्य,नेपाली कांग्रेस सोलुखुम्बुका पूर्ब उपसभापति एबम समाजसेवी शताब्दी पुरुष स्वर्गीय गणेश बहादुर बस्नेतको स्मृतिमा नेपाली कांग्रेस सोलुखुम्बुद्वारा सोमबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।राजनीति लगायत सबै क्षेत्रमा इमान्दारिता र निष्ठा हराउँदै गएका कारण अहिले जनतामा चरम निराशा र असन्तुष्टि बढ्दै गएको धारणा व्यक्त गर्दै उनले राजनीतिक नेतृत्वले बिगतमा गरेको त्यागप्रति समेत प्रश्न उठन थालेको बताए।

स्वर्गीय बस्नेतका नाति (छोरीका छोरा) समेत रहेका महामन्त्री थापाले हजुरबुवा इमान्दारीता र निष्ठाका पर्याय भएकै कारण निजामती सेवा र राजनीतिक क्षेत्रमा छुट्टै उचाई बनाउन सफल हुनुभएको बताउंदै हजुरबुवाको सोही उचाईका कारण परिचय बनाउने क्रममा वा परिचय बनाई सकेपछि पनि आफुलाई कतिपयले गणेश बहादुरको नाति भनेर सम्बोधन गर्दा गर्बको महशुस हुने गरेको बताए।अहिले अरुलाई भुइँमा राखेर आफू अग्लो ठाउँमा बस्ने अनि म उनीहरूको नेता हुँ भन्ने प्रवृत्ति मौलाउँदो छ । तर अरुलाई भुँएएमा राखेर आफू अग्लो ठाउँमा बस्दैमा नेता भइदैंन, थापाले भने- ‘नेता त्यो हो जस्लाई संगै बसेको साथीले यो म भन्दा योग्य छ,अरु भन्दा बिश्वासिलो छ,यसलाई अगाडी बढाउनु पर्छ भन्छन् ।’ स्वर्गीय हजुरबुवाले अग्लो ठाउँमा बसेर नभई अरु साथीहरूसंग संगै बसेर पनि एउटा उचाई प्राप्त गर्नुभएको बताउँदै उनले पेशाप्रतिको निष्ठा र इमान्दारिता सिक्न सके वहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखे ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले स्वर्गीय गणेशबहादुर बस्नेत नेपाली कांग्रेसको मात्रै नभई समाजकै निष्कलंकित ब्यक्ति भएको बताए।

आफू नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापति हुंदा स्वर्गीय बस्नेत उपसभापति रहेको बताउंदै उनले त्यतिबेला सिंगो कार्यसमितिको अभिभावक बनेर वहाँले काम गरेको स्मरण गरे । त्यतिबेला देश आन्दोलनमा होमिएको थियो,-वहाँ कहिल्यै निराश हुनुभएन,संधै हामीलाई उत्साहित बनाई रहनुहुन्थ्यो।

लोकतन्त्रबादी भएकै कारण वहाँ निजामती सेवामा कार्यरत हुँदा पद घटुवा गरियो। तर पनि वहाँले पेशागत निष्ठा धर्मराउन दिनुभएन,शेर्पाले भने- ‘वहाँ जहाँ लाग्नु भो,निष्ठा पूर्बक लाग्नु भो।जहाँबाट निस्कनु भो निस्कलंकित भएर निस्कनु भो,हामीले वहाँबाट त्यही कुरा सिक्नुपर्छ।’

आज काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो भइ रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।पेशा र जिम्मेवारीप्रति जवाफदेही नहुंँदा हरेक क्षेत्रमा समस्या उत्पन्न भइ रहेको बताउंदै उनले आ-आफ्नो जिम्मेवारी इमानदारीता र निष्ठापूर्बक निर्बाह गर्न सकेको खण्डमा मात्रै लोकतन्त्र बलियो बनाउन सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा कोशी प्रदेशका पूर्बमन्त्री एबम् नेकपा एमालेका नेता उत्तमकुमार बस्नेतले इमान्दारितापूर्बक काम गर्ने तर प्रचारमा ध्यान नदिने वहाँको बानी रहेको स्मरण गरे । फरक बिचारलाई निषेध नगर्ने र सम्मानपूर्बक समेटेर लिएर जाने वहाँको शैली अनुकरणीय रहेको उनको भनाई थियो।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बाबुराम आचार्यले सञ्चालन गरेको सो श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै संबिधान सभा सदस्य गोकर्ण राई,कोशी प्रदेश सभा सदस्य डोल्मा तामाङ,नेपाली कांग्रेस प्रदेश निर्बाचन क्षेत्र ख का सभापति कर्मा शेर्पा,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाशसिं कार्की,पूर्ब महासमिति सदस्य हुतराज बस्नेत,स्वर्गीय बस्नेतका कान्छा भाइ रेवती बहादुर बस्नेत,नेपाली कांग्रेस लिखुपिकेका नेता निमछिरी शेर्पाले स्वर्गीय बस्नेतको निष्ठा,इमान्दारिता र सक्रियता सबैका लागि मार्गदर्शन हुने बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले वहाँसंगको सामिप्यताको चर्चा गर्दै ८०/८२ बर्षको उमेरमा पनि पैदल हिंडेर सोलुखुम्बु जिल्लाका अधिकांश गाउँमा संगठन निर्माणमा लाग्नुभएको स्मरण गरेका थिए । अहिलेको पुस्ताले इमान्दार भएर अघि बढ्न वहाँबाट सिक्नुपर्ने उनको भनाइ थियो ।

सोही श्रद्धाञ्जली सभामा जिल्ला समन्वय समिति र नेपाली कांग्रेस लिखुपिकेको तर्फबाट स्वर्गीय बस्नेतको परिवारलाई समबेदना पत्र हस्तान्तरण गरिएको थियो।

लामो समय निजामती सेवामा बिताएर सेवा निबृत्त भएपछि २०४९ र ५४ को स्थानीय निर्बाचनमा कांगेल गाबिसको अध्यक्ष निर्बाचित हुनुभएका बस्नेतको १०२ बर्षको उमेरमा गत फागुन २७ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्