चट्याङ लागेर सिन्धुलीमा तीनजना घाइते
काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हिजो साँझ हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका हुन्। घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको काफ्लेको भनाइ छ। घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको छ। सुकुमायालाई भने थप उपचारका लागि हेटौँडा पठाइएको छ।
साँझ हावाहुरी, बर्सातसहित चट्याङ परेको थियो। हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत्का तार र खम्बाहरूमा क्षति पुगेपछि सेवासमेत अवरुद्ध भएको थियो।

