वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि सोलुदुधकुण्ड जिल्लाकै उत्कृष्ट
सोलुखुम्बु। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका उत्कृष्ट भएको छ।

निश्चित सूचकांकहरुका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्यांकनमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा प्रमुख रहेको सो नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको हो।मन्त्रालयले गरेको मूल्यांकनमा सोलुदुधकुण्ड नगरपालिकाले ९९ अंक प्राप्त गरेको छ ।दोश्रोमा लिखु पिके गाउँपालिकाले ९३.५ र तेस्रोमा थुलुङ दुधकोशी गाउँपालिकाले ८३.५ अंक प्राप्त गरेको छ।
यस्तै महाकुलुङ गाउँपालिकाले ७८ र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ७३ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ। नेचासल्यान,माप्यदुधकोशी र सोताङ गाउँपालिका यो मूल्यांकनमा सहभागी भएका छैनन्।
गाउँपालिका तथा नगरपालिकाहरूको वित्तीय जोखिम मूल्याङ्कन गरी वित्तीय सुशासन अघिबृद्धि गर्नका लागि सरकारले ल्याएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ को अधीनमा रहि मन्त्रालयले सो मूल्यांकन गर्ने गर्छ।
स्थानीय सरकारको आर्थिक ब्यबस्थापन ,श्रोत परिचालन,खर्चको प्रभावकारिता,पारदर्शिता र दिगोपनका आधारमा गरिने बित्तीय जोखिम मूल्यांकनले कुन स्थानीय तह आर्थिक अनुशासनमा कति बाँधिएको छ भन्ने कुराको संकेत गर्ने सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो।यही मूल्यांकनका आधारमा बित्तीय अनुशासनमा उत्कृष्ट ठहरिएका स्थानीय तहहरुलाई मन्त्रालयले बजेट थप गर्न सक्ने वहाँको भनाई छ।
यसअघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा पनि सो नगरपालिका जिल्लाकै उत्कृष्ट ठहरिएको थियो।कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कनका आधारमा सो नगरपालिकाले ६९.८ अंक प्राप्त गरि सोलुखुम्बु जिल्लाका स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको हो।

