ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्दनमा प्रचण्डको जोड
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता,ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन् ।

मुलुककै होचो भूभाग कचनकवलमा सोमबार बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे ।
जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।
उनले सोमबार नै कचनकवलको हुक्काहुक्की चोक बनियानीबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए । झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । –रासस

