राप्रपाले मंगलबार धनगढीमा बृहत मोटरसाईकल र्याली गर्दै,सहभागी हुन महामन्त्री राणाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले राजंसस्था, सनातन हिन्दु अधिराज्य पूनःस्थापना गर्ने लक्ष्य लिएर धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीमा सहभागी हुन आम नेपालीलाई आह्वान गरेका छन् ।

‘राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पूनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्यसहित यही फागुन १३ गते, धनगढीको अतरियाबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्याली आरम्भ हुँदैछ,’राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले आइतबार एक सन्देश सार्वजनिक गर्दै भने ।
‘यस अवसरमा एकजुट भएर अघि बढ्न,मोटरसाइकल र्यालीमा सहभागी हुन आम नेपाली दिदीबहिनी दाजुभाइ, समान विचारधारा भएका दल, समूह, अभियान, व्यक्ति, संस्थालाई अनुरोधका साथ आह्वान गर्दछु,’ राप्रपा नेता राणाले भने ।
राष्ट्रिय झण्डामा आयोजना हुने बाइक र्यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरुको सहभागिता रहने बताइएको छ ।
राप्रपा कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अतरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राप्रपाले चैतमा काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रुपमा सात प्रदेशका सात प्रमुख शहरहरुमा मोटरसाइकल र्याली आयोजना गरिएको छ । यस क्रमको सुरुवात मंगलबार धनगढीबाट हुँदैछ ।

