राष्ट्रिय मातृभूमि पार्टीले शान्तिवाटिकाबाट सुरु गर्यो भ्रष्टाचारविरुद्ध जनजागरण तथा झाडु-कुचो अभियान
काठमाडौं।राष्ट्रिय मातृभूमि पार्टीले देशव्यापी रुपमा भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने कार्यतालिका अन्तर्गत शनिबार जनजागरण तथा झाडु-कुचो कार्यक्रमको प्रारम्भ गरेको छ ।

पहिलो दिन सांकेतिक रुपमा शान्तिवाटिकामा भेला भई ‘भ्रष्ट संसदीय व्यवस्था खारेज गर’, ‘जागौ नेपाली’, ‘उठौं नेपाली भ्रष्टाचार र बेथितिको लागि जुटौ नेपाली’ ‘घटा सरकार इन्धनको कर’, ‘तुरुन्त मंहगी नियन्त्रण गर’ ‘झाडु-कुचो लाउँछौं’, ‘भ्रष्टाचारी बढार्छौ’ ‘लिपुलेक,लिम्पियाधुरा र कालापानी फिर्ता गर’ ‘कुशासन र भ्रष्टाचारको विरोध गरौ’, ‘सुशासन र सदाचार कायम गरौं’, ‘पूर्ण समामनुपातिक निर्वाचन प्रणाली लागु गर”अति भो भ्रष्टाचार र महंगीको मार’ ‘लुटेरा सरकार राजिनामा गर’ लगायतका नारा सहितका प्लेकार्ड बोकी नाराबाजी गर्दै नेपालको नक्साभित्र कुशासन र भ्रष्टाचार लेखी हातमा झाडु र कुचो बोकेका पार्टीका नेताहरुले बढारेर फालेका थिए ।
पार्टीका अध्यक्ष रामशरण पाण्डे, वरिष्ट नेता तथा वरिष्ट क्याप्टेन के.बि.लिम्वु, उपाध्यक्ष(अर्थविद्) टुलराज बस्याल, महासचिव गोविन्द गिरी लगायतले देशको वर्तमान भ्रष्टाचार बेथिति,कुशासन, कुव्यवस्थाको कारक वर्तमान सत्तासीन नेतृत्वको घोर जवाफदेहीहिनताले आज एफएटीएफको प्लेनरी बैठकले सम्पत्ति शुद्धिकरण अपराध र त्यसबाट सम्पत्ति आर्जन गर्ने क्रियाकलापको स्थिती भयावह अनियन्त्रित भएकोले नेपाल जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिष्ट) मा परेको र देशको जर्जर अवस्थाको कारक तत्व भ्रष्टाचार र कुशासन नै रहेको भन्ने धारणा राखेका थिए।
पार्टीका नेताले यो भ्रष्ट संसदीय व्यवस्थाका अन्त्य गरी मुहानवाटै सफा गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरे मात्रै अहिलेको भ्रष्टाचारलाई निराकरण गर्न सकिने विचार व्यक्त गरेका थिए । उक्त पार्टीले भ्रष्टका सम्पूर्ण अखडा पहिचान गरी सकेर भ्रष्टाचारका काण्डहरुको फाइल तयार पारिसकेको र ती भ्रष्टाचारका काण्डमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याएर कठघरामा उभ्याउन वर्तमान सरकारलाई दवाव दिने र आनाकानी गरेमा जनकारवाही गरी देश र जनतालाई न्याय, सुशासन,समृद्धि र जनकल्याणको सुनिश्चिता गर्ने बचनबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा जनकवि भोला बरालले देश भक्तिमय कविता बाचन गरेका थिए भने भिमसेन रिसालले राष्ट्रिय मातृभूमि पार्टीको जनसांस्कृतिक सडक नाटक प्रस्तुत गरेका थिए ।

