काउन्सिलमा सदस्य पाण्डेको स्वागत



काठमाडौं, १ भदौ । प्रेस काउन्सिल नेपालका नवनियुक्त सदस्य दिपक पाण्डेलाई काउन्सिलमा स्वागत गरिएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सोमबार पाण्डेलाई कार्यालयमा स्वागत गर्नु भएको हो ।

प्रेस काउन्सिल नेपालको शुद्धिकरण अभियानमा जुटेका पत्रकार पाण्डे मन्त्रीस्तरीय निर्णयबाट विहीबार प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त हुनु भएको हो । स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याललगायतले पाण्डेलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

२५ वर्षदेखि पत्रकारितामा क्रियाशील पाण्डे चार वर्षका लागि काउन्सिलको सदस्यमा नियुक्त हुनु भएको हो । पत्रकार पाण्डे हाल प्रकाश साप्ताहिकका सम्पादक एबं जनता टिभीका सल्लाहकार सम्पादककारुपमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं लेखा समितिका संयोजक समेत हुनुहुन्छ । पाण्डेसँगै पत्रकार दुर्गा भण्डारी पनि काउन्सिलको सदस्यमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्