१५ सय नगरबासीको पीसीआर परीक्षण गर्दै सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु, १ भदौ । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डले नगरभित्र कोरोना भाइरस संक्रमणको अवस्था बुझ्न झण्डै १५ सय बढी व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्र, यातायात क्षेत्रमा कार्यरत मजदुर, होटल तथा रेस्टुराँका साथै जनघनत्व बढी भएका स्थानहरुबाट सयमा २० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनु भयो । त्यसका लागि १५ सय बीटीएम खरिदका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाएको उहाँले बताउनु भयो ।
नगरप्रमुख शेर्पाका अनुसार नगरपालिकाले पछिल्लो पटक ३७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कोरोना अस्पताल पठाएको छ । वैदेशिक रोजगारीबाट फर्किएका ३० जना, उनीहरुको व्यवस्थापनमा खटिएका नगरप्रहरी र स्वास्थ्यकर्मी ६ जना र एकजना नगरप्रमुख शेर्पाको स्वाब परीक्षणका लागि पठाइएको हो । त्यसको रिपोर्ट आउन बाँकी नै रहेको शेर्पाले बताउनु भयो ।
बाहिरबाट आएका विभिन्न स्थानीय तहका नागरिकहरुलाई समेत निशुल्क पीसीआर परीक्षण र खानपानको व्यवस्था समेत सो नगरपालिकाले गर्दै आएको छ । वैशाखदेखि यता सोलुदुधकुण्ड नगरपालिकाले बनाएको क्वारेन्टाइनबाट झण्डै १८ सय विभिन्न गाउँपालिकाका स्थानीयले सेवा लिइसकेका छन् । जिल्ला बाहिरबाट आएका उनीहरुलाई खानपानको व्यवस्थासहित स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठाइएको शेर्पाले बताउनुभयो । त्यसमध्ये पोजेटिभ रिपोर्ट आएका ८ जनालाई नगरपालिकाकै व्यवस्थापनमा कोरोना अस्पताल पठाएर उपचारपछि घर फर्काइएको उहाँको भनाइ छ । शेर्पाका अनुसार नगरपालिकाको क्वारेन्टाइनमा हाल विभिन्न गाउँपालिकाका ३० जना नागरिक रहेका छन् ।

