खुम्बु पासाङल्हामु : कोभिड न्यूनीकरण र सुरक्षित शैक्षिक बाताबरण निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन्न

खगिन्द्र बास्तोला ||

सोलुखुम्बु , २९ साउन।खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा कोभिड- १९ जोखिम न्यूनीकरण तथा सुरक्षित शैक्षिक वातावरण निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरुको लागि एक्सन फर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाले कोभिड- १९ जोखिम न्यूनीकरण तथा सुरक्षित शैक्षिक वातावरण निर्माण कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिने भएको छ ।
पालिकाभित्रका १७ ओटा विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषय शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, सम्बन्धित वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु गरि ८२ जना बीच अन्तरक्रिया सञ्चालन गरिएको थियो ।

गाउँपालिका क्षेत्रमा कोभिड-१९ का लक्षणहरु, सर्ने माध्यम तथा तरिका र बच्ने उपायहरु, गाउँपालिकाको नीतिगत निर्णयका बारेमा जानकारी गराइएको सो कार्यक्रममा कार्यक्रम सञ्चालनका लागि समुदाय स्तरमा सबैको लक्षण परीक्षण, जनचेता अभिवृद्धि, अनिवार्य मास्कको प्रयोग, सामाजिक दुरी कायम, यस क्षेत्रमा अनावश्यक प्रवेश निशेध , प्रवेश गर्नैपर्ने भएमा कोभिड-१९ नभएको प्रमाणपत्र पेश गरी १४ दिनसम्म होम क्वारेन्टाइन बस्नुपर्ने मापदण्ड पालना गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी विद्यालय स्तरमा कक्षाकोठा तथा शिक्षक कर्मचारी व्यवस्थापन, बिर्को सहितको डस्टवीनको प्रयोग, विद्यालय हाताभित्र अनावश्यक प्रवेश निशेध, सामाजिक दुरी कायम राखेर मात्र खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने जस्ता विषयमाथि छलफल भएको थियो ।

मापदण्डअनुसारका उचित प्रबन्ध मिलाई सम्बन्धित निकायले रुजु गरे पश्चात् पहिलो चरण उच्च सुरक्षा तथा निर्देशित शिक्षण, दोस्रो चरणमा उच्च सुरक्षा तथा सन्तुलित शिक्षण, तेस्रो चरणमा उच्च शिक्षा तथा विस्तृत शिक्षण कार्यक्रम सञ्चालन गरिने एक्सन फर नेपालले जनाएको छ ।
विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ अभिभावकहरुलाई कार्यक्रम सम्बन्धी अभिमुखीकरण गर्दै विद्यालय पुनः सञ्चालन वातावरण निर्माण गर्ने उद्धेश्य रहेको अभिमुखीकरण कार्यक्रमको सहजीकरण खुम्बु पासाङल्हामु गाउँपालिका कार्यपालिका सदस्य मिङ्माछिरी शेर्पा, गाउँ शिक्षा समितिका सदस्य लाक्पा गेल्जेन शेर्पा, गाउँपालिका शिक्षा शाखा प्रमुख चङ्ख बहादुर ठोकर र एक्सनफर नेपालका प्रबन्धक रामदयाल यादवले गर्नुभएको थियो ।

