मुग्लिन–नौबिसे सडक आजदेखि दिउँसो तीन घण्टा बन्द हुने
काठमाडौं।पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आझ आइतबारदेखि एक साता दिउँसोमा आंशिक बन्द हुने भएको छ ।सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आइतबारदेखि यही पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दरैका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गरिनेछ । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
यसैगरी, चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनने जानकारी दिए ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए । जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियो ।

