जातीय छूवाछुत र साम्प्रदायिकता समाज विकासको ऐजेरु : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छूवाछुत र साम्प्रदायिकतालाई समाज विकासको ऐजेरु भएका भन्दै त्यसलाई जरैदेखि फाल्नुपर्ने बताएका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले असमानता, अन्याय, छुवाछुत र दुःख भोगेर कोही सुखी हुन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्ने उनले बताए।

संविधानमा आफूहरूले सामाजिक न्याय र समानताको व्यवस्था पनि त्यही कारण गरिएको उनको भनाइ थियो ।“मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुरालाई मान्यता दिँदैन,” प्रधानमन्त्री ओलीले भने।

छुट्टै प्रसंगमा ओलीले भने,-‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ,हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् ।’प्रधानमन्त्री ओलीले दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएको पनि उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा बताएका थिए।

प्रतिक्रिया दिनुहोस्