खरिखोलामा अस्पताल र पोष्टममार्टम केन्द्र स्थापनाको माग गर्दै वडाध्यक्ष शेर्पाले गराए स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण



सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ का वडाध्यक्ष फुनुरु शेर्पाले खरिखोलामा ५ शय्याको अस्पताल र पोस्टमार्टम केन्द्र स्थापना गर्न माग गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई भेटी स्वास्थ्य संस्थाको अभावका कारण स्थानीयले ठुलो समस्या भोग्नु परेको तथा पोस्टमार्टम प्रक्रियामा पनि निकै जटिलता भएको जानकारी गराउँदै खरिखोलामा तत्काल अस्पताल र गाउँपालिकाको केन्द्रमा पोस्टमार्टम केन्द्र स्थापना गर्न माग गरेका हुन्।

वडाध्यक्ष शेर्पाले अस्पताल निर्माणका लागि जग्गा प्राप्ती गर्न गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी गराउँदै वडाध्यक्ष शेर्पाले भेटका अवसरमा मन्त्री पौडेललाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन्।

अस्पताल स्थापनाले खरिखोला र आसपासका बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने र पोस्टमार्टम केन्द्र स्थापना हुँदा अकाल मृत्युवरण गरेका ब्यक्तिका परिवारले कानुनी प्रक्रिया पुरा गर्न शवलाई सदरमुकाम पुर्याउनुपर्ने झन्झटबाट मुक्त हुने शेर्पाद्वारा मन्त्री पौडेललाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।मन्त्री पौडेलसँगको भेटमा नेपाली कांग्रेस खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ५ का सभापति मिङमा शेर्पा पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्