माओवादी केन्द्र सोलुखुम्बुले मंसिर १५ गतेदेखि बिशेष अभियान सञ्चालन गर्ने
सोलुखुम्बु।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले जिल्लामा पार्टी सुदृढीकरणका लागि बिशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुको शुक्रबार सम्पन्न बैठकले बिशेष अभियानका रूपमा ८ वटै स्थानीय तहहरुमा बैठक गरी सम्मेलनको तयारी गर्नेसंगै मंसिर मसान्तभित्र अनिवार्य रुपमा संगठित सदस्यताको नवीकरण एवं नयाँ संगठित सदस्यता वितरण गरि सक्ने लगायत अन्य विभिन्न निर्णय गरेको जिल्ला समन्वय समिति सदस्य भुपेन्द्र कटेलले जानकारी दिए।
बैठकले नेचा सल्यान गाउँपालिकामा यही मंसिर १५ गते,थुलुङ दुधकोशी गाउँपालिकामा १७ गते,माप्य दुधकोशी गाउँपालिकामा १९ गते,सोलु दुधकुण्ड नगरपालिकामा २१गते , महाकुलुङ गाउँपालिकामा २३ गते,सोताङ गाउँपालिकामा २४ गते, खुम्बु पासाङल्हामु गाउँपालिकामा २६ गते र लिखुपिके गाउँपालिकामा २६ गते बैठक बोलाउने निर्णय गरेको उनले बताए।
यसैगरी,संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट र योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि जिल्लाका सम्पूर्ण स्थानीय तहहरु तथा जिल्ला समन्वय समितिसँग रिपोर्ट माग गरी खबरदारी गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि १ नं. प्रदेश कमिटी सदस्य दिल बहादुर नेपाली ‘घनश्याम’ को संयोजकत्वमा सबै पालिका कमिटी अध्यक्ष सदस्य रहने गरी समन्वय समिति गठन गरिएको छ ।
बैठकले जिल्ला पार्टीका गतिविधिहरुलाई प्रभावकारी ढंगले जनसमक्ष पुऱ्याउन भोजराज कार्कीको संयोजकत्वमा विजय तामाङ,अन्जु कार्की,धनबल राई सदस्य रहेको पाँच सदस्यीय प्रचार विभाग गठन गरेको पनि जनाईएको छ।
बैठक जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक नाम्गेल शेर्पाको अध्यक्षता,नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रीय सदस्य एब सोलुखुम्बु जिल्ला इन्चार्ज हेम कुमार राई ‘सुरबीर’को प्रमुख आतिथ्यता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय संदस्य एवं जननिर्वाचित १ नं. प्रदेशसभा सदस्य क. गोम्बु शेर्पा ‘कज्र्याङ’को विशेष आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),१ नं. प्रदेश समितिका सह-सचिब सागर किराँती तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका सह-इन्चार्ज तथा थुलुङ दुधकोशी गाउँपालिकाका जननिर्वाचित अध्यक्ष असिम राई लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

