सोलुदुधकुण्ड नगरपालिका शून्य बेरुजुतर्फ उन्मुख : नगरप्रमुख शेर्पा



सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिकाको नगर सभाको विशेष अधिवेशन सम्पन्न भएको छ ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बिहीवार सम्पन्न नगर सभाको विशेष अधिवेशनमा महालेखापरीक्षकको कार्यालयबाट आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण हुँदा पेश भएको प्रतिवेदन उपर दफावार छलफल हुनुका साथै विधायन समितिका संयोजक उपप्रमुख गान्धी माया तामाङले सोलुदुधकुण्ड नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०८१ र लेखा समितिका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले आर्थिक बर्ष २०८०/०८१ को प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन र सम्परीक्षण गर्नु पर्ने दफाको बारेमा प्रस्ताव पेश भएको नगरपालिकाले जनाएको छ।

लेखापरीक्षण प्रतिबेदन माथिको छलफलका क्रममा लेखापरीक्षण हुँदा विगत आर्थिक वर्ष २०७९/०८० मा बेरुजु कायम भएको कुल बेरुजु रकम रु २१,४२,०५७।- मध्ये रु ९,७९,७२५।- सम्परीक्षण भई रु. ११,६२,३३२।- बाँकी रहेको र आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन पेश हुँदा असुल उपर गर्नु पर्ने बेरुजु रु १४,३३२।-,नियमित गर्नु पर्ने बेरुजु रु १२१,८००।- र प्रमाण पेश गर्नु पर्ने बेरुजु रकम रु ३,७५,८६६।- गरी कायम भएको कुल जम्मा बेरुजु रकम रु ५,११,८९८।- रहेको पाइएको बताइएको थियो ।

नियमित गर्नुपर्ने भनि लेखिएको बेरुजु रकम रु १२१,८००।- कण्टिन्जेन्सिज खर्च शीर्षकबाट खर्च लेखिएको हुनाले उक्त खर्चले कुनै पनि सरकारी हानी नोक्सानी नपुर्‍याउने भएको हुँदा सम्परीक्षण गर्नका लागि महालेखापरीक्षकको कार्यालयमा पेश गर्ने र असुल उपर गर्नु पर्ने बेरुजु असुल उपर गर्ने तथा प्रमाण पेश गर्नु पर्ने बेरुजुको हकमा आवश्यक प्रमाण पुर्‍याई बेरुजु सम्परीक्षणका लागि महालेखापरीक्षकको कार्यालयमा पेश गर्ने निर्णय गरेको प्रबक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए।

सोलुदुधकुण्ड नगरपालिकाको नगर सभाको विशेष अधिवेशनमा बोल्दै नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले वित्तीय अनुशासनमा सोलुदुधकुण्ड नगरपालिकाबाट सम्पादित गतिविधिहरुको प्रमाणका रुपमा नगरपालिका शून्य बेरुजुतर्फ उन्मुख रहेकोमा नगरपालिकाका सबै जनप्रतिनिधि, कर्मचारीहरु र सेवाग्राही सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्