उपनिर्बाचन : रास्वपामा कुन पदका उम्मेदवारका आकांक्षीले कति बुझाउनु पर्छ शुल्क ?



काठमाडौं । आगामी मंसिरमा हुने स्थानीय तहका रिक्त पदमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार हुन चाहने आकांक्षी सदस्यका लागि आबेदन दिन आव्हान गरिएको छ।

आगामी मंसिर १६ गते हुने रिक्त स्थानीय तहका ४४ पदका लागि हुने निर्बाचनमा उम्मेदवारका आकांक्षीले नगरपालिकाको मेयर/उपमेयरका लागि ३ हजार, पालिका अध्यक्ष/उपाध्यक्षका लागि २ हजार र वडाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले जनाएको छ।

फारममा उम्मेदवारले आफ्नो नाम, जन्म मिति, मोबाइल नम्बर, उठ्न खोजेको पद, शैक्षिक योग्यता, पार्टी सदस्यता नम्बर भर्नुपर्नेछ। आफू उम्मेदवारका रुपमा सबैभन्दा उत्तम विकल्प किन हो ? आफ्नो क्षेत्रका समस्या र निर्वाचित भएको खण्डमा गर्ने मुख्य कामहरू पनि फारममा उल्लेख गर्नुपर्ने केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले जानकारी दिए।

नागरिकता र मतदाता परिचयपत्र अपलोड गर्नुका साथै निर्वाचन जित्ने आधारहरूसमेत आकांक्षीले फारममा लेख्नुपर्नेछ। फारम भर्नका लागि चाहिने रकम तिरेको भौचर पनि अपलोड गर्नुपर्ने समितिले जनाएको छ। फारम भर्नका लागि पद अनुसार फरक-फरक शुल्क तोकिएको छ।

यसरी आवेदन दिएका मध्येबाट समितिले प्रारम्भिक निर्वाचन सञ्चालन गरी उम्मेदवारको छनौट गर्नेछ। प्रारम्भिक निर्वाचनको कार्यतालिका पनि तय गरिएको संयोजक पराजुलीले बताए।

कार्यतालिका अनुसार उम्मेदवारी दर्ता फारम कात्तिक २५ गते दिउँसो २ बजेसम्म भरिसक्नु पर्नेछ। सोही दिन साँझ ८ बजेसम्म उम्मेदवार सबैको प्रारम्भिक नामावली प्रकाशन गरिने तालिका छ।

कात्तिक २६ गते प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध लिइने र २७ गते उम्मेदवारसँग छलफल गरी सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिकामा उल्लेख छ।

कात्तिक २८ गते उम्मेदवार टुंगो लगाउन मतदान वा निर्णय गरिने र त्यसको नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रकाशन गरिने समितिले जनाएको छ।

स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो। २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन नै भएको थिएन।

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ।

बुधबार साँझ बसेको समितिको बैठकले सात वटै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको हो।जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, वागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशमा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्