ट्रम्पले गरे आफू बिजयी भएको घोषणा, यो जित अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी
काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् ।

उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँगै स्टेजमा पुगेका थिए । “हामी हाम्रो देशलाई ठिक पार्न मद्दत गर्नेछौँ,” ट्रम्पले भने ।
सम्बोधनका क्रममा ट्रम्पले अबका वर्षहरू अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन् ।
उनले भने, “यो अमेरिकी जनताको लागि ठूलो जित हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउने छ ।”
ट्रम्पको चुनावी अभियानको नारा ‘मेक अमेरिका ट्रम्प अगेन’ रहेको छ । सम्बोधनका क्रममा ट्रम्पले राष्ट्रपतिमा आफ्नो जित घोषणा गरेका छन् । यद्यपि, यसको औपचारिक घोषणा भने भइसकेको छैन ।
सपथग्रहणपछि ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति हुनेछन् । उनको मुख्यप्रतिस्पर्धीमा डेमोक्राटिक पार्टीकी कमला ह्यारिस थिइन् ।

