लक्ष्मी पूजा पनि आज गरिंदै


आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।
मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ ।आजबाट नै देउसी भैलो पनि खेल्ने शुरु गरिन्छ । यो क्रम तिहारभरी चल्ने छ । तथापी पछिल्ला केही बर्ष यता केही स्थानमा तिहारका केही दिनपछिसम्म पनि देउसी भैलो खेल्ने चलन मौलाएको छ ।
लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।
शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए ।

