स्याङ्जामा जीप,सिन्धुलीमा माइक्रोबस दुर्घटना : २१ जना घाइते
काठमाडौं। बीपी राजमार्गको सिन्धुलीमाडी–बर्दिबास खण्डअन्तर्गत कमलामाई नगरपालिका–८,सिस्नेरीमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना भएको छ ।

शुक्रबार काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।
उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । माइक्रो बसमा १९ जना सवार रहेको समेत प्रहरीको भनाई छ ।
उता स्याङ्जाको आँधीखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।
आँधीखोला गाउँपालिका-२, बेझाङ, भालेखर्कस्थित सडकमा सिरुबारीबाट पोखरातर्फ आउँदै गरेको ग१ज ५७५६ नम्बरको बोलेरो जिप दुर्घना भएको हो।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा घाइते हुनेहरूमा आँधीखोला गाउँपालिका ५ का ५० वर्षीय आत्माराम सिग्देल, ४ वर्षकी कलावती घिमिरे, ३२ वर्षकी सिर्जना चापागाईं, कास्कीको छोरेपाटन पोखराकी १६ वर्षकी अमना नेपाली, स्याङ्जा अर्जुन चौपारी ५ आरुचौरकी ५ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षका शिव सिग्देल र कास्कीको पोखरा महानगरपालिका ११ की मनिषा नेपालीकी ३ वर्षीय छोरी सोफिया नेपाली रहेका छन्। मनिषालाई भने कुनै चोट नलागेको बताइएको छ।
घाइते सबैलाई उपचारका लागि सेतीदोभान स्वास्थ्य चौकी पठाइएको पौडेलको भनाइ छ।

